Translate

Wednesday, October 30, 2013

कतारमा नेपालीको दुःख – गधालाई नेपालीले जोतेको हो कि ‘गधा’हरुले नेपालीलाई जोताएका ?

कतारमा नेपालीको दुःख – गधालाई नेपालीले जोतेको हो कि ‘गधा’हरुले नेपालीलाई जोताएका ?
विश्वव्यापी प्रभाव रहेको बेलायती पत्रिका गार्डियनले ‘आधुनिक दासता’ सम्बन्धी समाचार सामाग्री शृङ्खला तयार पार्ने क्रममा अहिले कतारमा नेपाली आप्रवासी कामदारहरुले पाइरहेको दुःख खुलासा गरिरहेको छ। युएनमा सम्म यो कुरा उठेको छ। गार्डियनले ती सत्य उजागर गर्नुअघि पनि नेपाली छापामा यस्ता दुःख आएकै थिए। तर यसले अहिले जस्तो विश्वव्यापी प्रभाव पार्न सक्दैन थियो। अहिले कतारलाई विश्वकप आयोजना गर्न नदिन यस्तो मिसन चलाइएको भन्नेहरु पनि छन्। होला, तर नेपालीलाई दासको व्यवहार गरिएको, असुरक्षित काममा लगाइएको र तलब नदिई ठगिएका कुरा झुटा हैनन्। निमुखा नेपालीको पीडामा विश्वको ध्यान जानु सकारात्मक कुरा हो। तैपनि केही नेपालीलाई तातो न भुत्लोसँग कतारको विश्वकपको माया लागेको देखेर सहन नसकी एक जना पाठक राजले यस्तो जवाफ फर्काएका छन्- ‘ए दाजै, कतार वा कुनै देशमा फूट्बल वर्ल्डकप आउँदैन भने तिम्रो किन टाउको दुख्छ? त्यो आवोस् वा नआवोस्, हाम्रो सरोकारको विषय होइन। तिमी एक नेपाली हौ भने नेपालीको सरोकारको बिषयलाई ध्यानमा राख।’


कतारमै इलेक्ट्रिसियन भिसा लिएर त्यहीँ बसेर केही वर्ष पत्रकारिता गरेका कान्तिपुरका पत्रकार देवेन्द्र भट्टराईले धेरै समाचार त्यहाँका कामदारले पाएको दुःख बारे लेखे। इलेक्ट्रिसियन भिसा किन भन्नुहोला, पत्रकारको भिसा नदिएर नि। लुकिछिपी पत्रकारिताको काम गर्नुपर्थ्यो उनले।
गधा जोत्दैछु यतातिर !
book cover मध्यरातमा भ्यागुत्ता कराएको एकोहोरो ट्वार-ट्वार आवाज सुनियो। छिनभरमा गधा कराएको हिंक-हिंक सुनिन थाल्यो। कतारको भित्री कुनोजस्तो लाग्ने जमलियाको एउटा मजरामा हामी छिरेका थियौं। गोर्खा जिल्लाबाट आएका दाजुभाइका माझ सानोतिनो कटेरोमा लाम लागेर सुतेका बेला आफ्नो गाउँघर पुगेको झल्को मिल्यो। साउने संक्रान्तीको भोलीपल्ट भेट भएका दाजुभाइहरु केही हँसिला देखिन्थे, दुरोदेशमा भर्खरै संक्रान्ती मनाएकोमा। उनीहरुले अघिल्लो दिन मात्रै १० जनाको भेलामा ४ केजी खशीको शिकार र पेय पदार्थहरु खाएर संक्रान्ती मनाएका रहेछन्।

रातमा बाहिर निस्कँदा सिजर र खजुरका बोटहरु मास्तिर जूनको उज्यालो छाएको थियो। मजरामा पानी लगाउन खनिएको खाल्डो वरपर गाउँको साउने झरी भुलाउने गरी भ्यागुता कराइरहेका थिए। हाम्रातिर भए पर्तिरको गोठमा हल गोरु र गाई हुने थिए, यहाँ भने जुनेली छायाँमा गधाको आकृति देखियो।

‘हजूर मैं हुँ, यो गधाको हली–रेसम रोकाया नेपाली। बर्ष ३५। घर- गोर्खा, अश्राङ’,परिचयको पंक्तिमा भोलीपल्ट बिहान गठिलो ज्यानका दारीवाल रेसम सामुन्नेमा आए। रेसम कतार छिरेको डेढ बर्ष भएको रहेछ। सुरुका सात महिना उनी एक कम्पनीमा लेबर बने जहाँ उनलाई न भिसा लाग्यो, न मेडिकल भयो। सात महिनामा मुश्किलले ४ महिनाको मात्रै तलव पाए। आफ्नै दाइले निकालिदिएको तनुवा भिसामा यता आएका रेसमले जमलियाको मजरामा आफ्ना गोर्खाली दाजुभाइहरु रहेको पत्तो पाए र, यता आए। ‘त्यही हो हजूर, बिहानभर शब्जी बगैंचामा गोडमेल, उखेल्ने, गाडीमा हाल्ने काम गर्छु। दिउँसो १ बजेदेखि भने ४/५ घण्टाजति गधा जोत्छु,’उनले संक्षेपमा सुनाए। भगौडा कामदारका रुपमा मासिक ७ सय रियाल तलव तथा खानाका भरमा उनी गधा-हली बनेका छन्।

‘म खासमा कार्पेन्टर काममा आएको हुँ, त्यो काम देख्न समेत पनि पाइएन,’रेसमले सुनाए। अश्राङ गाउँमा बसेका चार छोराछोरी, श्रीमतीसहितको परिवारलाई थोरैतिनो सुख दिलाउन खाडी छिरेका रेसमले कुनै दिन परिबन्दमा परेर यसरी गधा समेत जोत्नुपर्ला भन्ने सोचेका थिएनन्। उतातिर जिल्ला, देश र गैर आवासीय नेपालीमाझका प्रतिष्ठित बद्री पाण्डे खलकको खेतीमा जोतखन गर्ने बाबुबाजेको सन्तान भएपनि रेसम बढी आफ्नो लेखान्तमा विश्वास गर्छन्। ‘पढालेखा भइएन, जागिर पनि थिएन,’उनी सम्झन्छन्–’कर्म र भाग्यभन्दा पनि गरिवीका कारण यो मरुभूमीमा गधा जोतिरहेको छु हजूर!’

एक बर्षदेखि गधा-जोताइको अनुभव बोकेका रेसमलाई सोधियो–’पहाडी पाखोमा गोरु जोत्नु र यता गधा जोत्नुमा कुन सजिलो छ?’
gadha
‘गोरु वा गधा, जे को भएपनि हली बन्नु उस्तै हो’ भन्दै उनले सुरुमा हातभरि उठेका ठेला देखाए। त्यसपछि सुनाए–’पहाडी भिरपाखामा गोरु जोत्नु नै सजिलो हो नि!’ किन त? ‘गधाको खराबी के छ भने यसले आफ्नो-पराइ छुट्ट्याउँदैन। मैंले एक बर्षजति भयो यो गधालाई जोत्न थालेको, तर मलाई टोक्छ पनि। लात्ती पनि हान्छ। यसलाई रोटी र घाँस पनि नित्य ख्वाउछु तर यसले गुन कहिल्यै सम्झेको छैन’,उनले भने। उनको अनुभवमा गोरुले सधैंजसो ठीक्क मेलो लिएर हिंड्छ। तर गधा भने उसलाई अलिक भार पर्‍यो कि त मेलो छाडिहाल्छ। ‘नामै त गधा’, खिसिक्क हाँस्दै रेसमले थपे–’फेरि यो गधा एकदमैं हरामी छ के सर! मेलोबाट भाग्दा १५/२० किलोमिटर भागीदिन्छ, यो गरममा कुद्दाको दास्ती हुन्छ।’

जमलियाको यो मजरा वरपर अचम्मको संयोग पनि फेला पर्‍यो। मजराका मुदिर गोर्खा, ताप्लेका रामप्रसाद पनेरु पुर्व प्रहरी पेशाका जवान थिए भने दिपक घर्ती नेपाली सेनाका भगौडा जवान थिए। उनै रामप्रसाद पछिल्ला बर्षमा माओवादी कार्यकर्ता बनेका थिए भने सँगै भेटिएका बर्दियाका कविराम कँडेल सरकार-माओवादी द्वन्द्वको चपेटामा परेर डेढ बर्षजति जेल परेका पात्र थिए। ‘शायद नेपालमैं भएको भए द्वन्द्वको चेपुवामा परेर मरिसकिन्थ्यो होला,’४४ बर्षिय कँडेलले भने।

अब फेरि रेसम रोकायाकै गाउँघर र घरपरिवारका कुरा गरौं न। न पासपोर्ट, न भिसा न अरु केही कागजात आफूसँग रहेको फुक्काफालको अवस्थामा रहेछन् रेसम। खाडी छिर्न गाउँबाट लिएको ऋण, ऋणको ब्याज र ब्याजको स्याज तिरिसक्न पनि अझै बाँकी रहेछ। कतिसम्म हैरानीको कुरा भने उनीसँग भएको पाखाबारी, गाइबस्तु, कुखुरा र घर बेच्दा समेत पनि यता आएको ८० हजार रुपैंयाको जेथो नउठ्ने अवस्था रहेछ। ‘अरु सबै कुराहरु यताको दुःखले भुलाउँछ हजूर,’उनी भन्छन्–’अब आफ्नो घर कसरी, कहिले, कुन ताकमा फिरिएला– केही पत्तो छैन।’

रेसमका लागि अब बिदेशको यात्रा ‘फस्ट’ पनि र ‘लास्ट’ पनि हो। विदेशको यो हैरानी उनी झुक्किएर पनि दोहोर्‍याउन चाहँदैनन्। उसो त मजरामा भएका सबै नेपाली दाजुभाइहरु हरेक साँझ एउटै भाँडोको खान्की खान्छन्। उनीहरु आफूहरुसँग रहेका उस्तै लाग्ने धेरै दुःख र थोरै सुखका कथाहरु एकअर्कामा सुनाउँछन्। अनि बढो दुःखले भरिएको मनमुटु लिएर ओछ्यान छिर्छन्। ‘अब कतारले बाइबाइ गरेको छ सर’,रेसमले फेरि पनि गह्ौं स्वरमा सुनाए–’यो मनमा खजुरको काँडासरी खिल गढेको छ। कुन दिनदशा लागेर यो मरुभूमीमा गधा-हली बन्न आइयो नि भन्ने भैरहन्छ।’

पर्तिरको मजरामा गोर्खाली दाजुभाइको एउटा अर्को हुल पाकेको खजुर टिप्नमा व्यस्त थियो। ‘यो मरुभूमीको एउटै गतिलो स्वाद भनेको यही हो,’गोर्खाकै मेघप्रसाद पनेरु भन्दै थिए। खजुरको रुखबाट तल वर्लिदा तिनको हात महसरी रसले भिजेको थियो। खजुरको फेदमा मोरङ लक्ष्मीमार्गका दिनेश चौधरी पानी हाल्दै थिए भने सनपाटको हरियो तरकारी केलाउने हतार पनि सुरु भैसकेको थियो।

मजराको बिहानीमा जब दाजुभाइहरु पदिना काटिरहेका थिए, त्यहीबेला यो संवाद जारी थियो। त्यो हुलमा पुर्व आर्मीका जवान दीपक घर्ती केही बोल्न चाहिरहेका थिए। गोर्खादेखि बझाङसम्मका सैन्य अनुभव उनीसँग थिए, तिनमा थोरै सुखद र धेरै दुःखद थिए। अविवाहित दीपकले गाउँले मायालुका कुरा पनि सुनाए। यो मरुभूमी र मजराबाट कुनै दिन घर फिरेर घरजम गरिएला भन्ने सपना उनीसँग ज्यूदो थियो। उँटको बथान हुँदै उँट-रेसबाट उम्केर यो मजरामा आइपुगेका उनले आफ्नो नाममा ‘टेन्सन’ टाइटल राखेका रहेछन्। स्वभाविक थियो– यसरी टाइटल राखेपछि यिभित्र केही न केही ‘राज’ लुकेकै हुनुपर्छ भन्ने लागेको थियो। हो रहेछ। पसिनाले भिजेको भित्री खल्तीबाट एउटा चिकर्टो झिके तिनले र, भने–’सर यसो मिलाएर छापिदिनुहोला है।’

‘प्रेम अनि बैंश भनेको लुतो हो

जो बेला-कुबेला चिलाउँछ

अनि जतिजति कन्यायो

उतिउति आनन्द आउँछ।’

(पत्रकार देवेन्द्र भट्टराईको रत्न पुस्तक भण्डारबाट तीन वर्षअघि प्रकाशित ‘रेगिस्तान डायरी’ पुस्तकबाट साभार अंश।)

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

नेपाल हिन्दुराज्य नै हुनुपर्छ ?

All the pitures,text belong to b4nepal.blogspot.com users. B4nepal.blogspot.com do not claim to any of the pictures, text uploaded it's own. No copy infringment is intended. If you see a text, picture there shouldn't be posted here, please send and e-mail and it will be removed
And if you like to upload any picture please send your photo to our e-mail and we will upload your picture. E-MAIL- nepalishah007@gmail.com